२०८२ कार्तिक ११ मंगलवार
नेपाली समय

इतिहासले फेरि दिएको अवसर : राष्ट्रलाई केन्द्रमा राखेर सच्चिने अन्तिम घडी

३ हप्ता अगाडि

इतिहासले फेरि दिएको अवसर : राष्ट्र, जनताको पक्षमा सच्चिने अन्तिम घडी

Advertisement 1

राजेन्द्र गुरुङ, महामन्त्री – राष्ट्रिय प्रजातन्त्र पार्टी

देशलाई केन्द्रबिन्दुमा राखेर बिगतका गल्तीहरू सुधार्ने ऐतिहासिक अवसर समयले फेरि प्रदान गरेको छ।
तर प्रश्न यहीँ छ — के हामीले इतिहासबाट पाठ सिक्यौं? कि फेरि पनि नबुझ्ने र नमान्ने पुरानै घमण्ड बोकेर अगाडि बढ्ने हठ गरिरहेका छौं?

२०६३ पछि सरकार र सत्तामा पटक–पटक हैकम जमाएका शक्तिहरूले देशलाई यो अवस्थासम्म ल्याए।
अव तिनै हातहरूमा फेरि देशको साँचो जिम्मेवारी आएको छ।
यो मौका सुधारको हो, आत्ममूल्यांकनको हो, अनि राष्ट्र र जनताको हितलाई सर्वोपरि राखेर सच्चिने अन्तिम घडी हो।
यदि यसपटक पनि अहंकारले आँखामा पट्टी बाँध्यो भने —
इतिहासले सराप्नेछ,
भविष्यले दुत्कार्नेछ,
माटोले धारेहात लगाउनेछ।

Advertisement 3

🔹 सुधारको बाटो : राष्ट्र र जनताको आत्मसम्मानका लागि

राम्रा कार्य र उपलब्धिहरूको जगेर्ना गरौं।
तर, देशका आत्मा र पहिचानमाथि आँच पुर्‍याउने गलत प्रयोगहरूलाई अस्वीकार गरौं।
गणतन्त्र, धर्मनिरपेक्षता र प्रदेश संरचनाले अपेक्षित परिणाम दिएनन् — यो तीतो सत्य हो।
अब देशले खोजेको हो — सबै अट्ने, मौलिक र नेपाली माटोमा रोपिएको नयाँ व्यवस्था।

गलत नक्सामा हिँड्दा देश कहाँ पुग्छ भन्ने हामीले देख्यौं।
अहिले आइपुगेको थलो चेतावनी हो, अन्त्य होइन।
यदि यही बाटोमा अघि बढ्यौं भने
देश थप अराजकता, असफलता र निराशाको गर्तमा झर्नेछ —
यो हामी सबैको साझा हार हुनेछ।

🔹 संकटको घडीमा आत्मसमीक्षा

आज राष्ट्रियताको दृष्टिकोणबाट देश गम्भीर संकटमा छ।
हाम्रो गौरवशाली इतिहासका प्रतीकहरू — मन्दिर, दरबार, सम्पदाहरू जले;
राज्यका निकायहरूमा आगजनी भयो;
सुरक्षा संयन्त्रमा आक्रमण भयो;
व्यवसायी र उद्यमीहरूका संरचना जलाइयो।

नेपाललाई दशकौं पछाडि धकेल्ने यो योजनाबद्ध विध्वंश कसको डिजाइन थियो?
किन र कसका आदेशमा?
के तिनले आफ्नो उद्देश्य हासिल गरे?
कि अझ ठूलो दुर्घटनाको तयारी भइरहेको छ?

यो समय दोषारोपणको होइन, आत्मसमीक्षाको हो।
सानातिना स्वार्थ छोडौं,
एक ठाउँमा बसेर देशको मार्गचित्र फेरि कोरौं।
मुलुकको मूल समस्या विदेशी वाद होइन, आत्मपरित्याग हो।

🔹 राजनीति होइन, राष्ट्रनीति चाहिन्छ

आज हामीसँग राजनीतिकर्मी धेरै छन् —
तर राजनीतिज्ञ थोरै।
पदका लागि होड छ, तर राष्ट्रका लागि अठोट छैन।
समयले अब ‘साझा नेतृत्व’ खोजिरहेको छ —
अठोट, इमान र राष्ट्रप्रेमको एकीकृत स्वरूप।

देशलाई बचाउने, जनताको विश्वास फर्काउने र भविष्य निर्माण गर्ने शक्ति दलगत झगडाबाट होइन,
राष्ट्रको साझा प्रतिनिधित्वबाट आउँछ।

🔹 समाधान घरभित्रै छ : साझा प्रतिनिधिलाई जिम्मा दिऊँ

हामीले धेरै समय विदेशी वाद र परनिर्भर तन्त्रमा खर्च्यौं।
अब आफ्नै घरभित्र समाधान खोज्ने बेला आएको छ।
नेपालको माटोमा रोपिएको एकमात्र साझा प्रतीक — राजसंस्था —
फेरि जनताको विश्वास र राष्ट्रको स्थायित्वको केन्द्र बन्न सक्छ।

राष्ट्रको अस्तित्व, दलहरूको सम्मान र प्रजातन्त्रको रक्षा —
यी सबै साझा प्रतिनिधित्वबाट मात्रै सम्भव छन्।

🔹 निष्कर्ष

देश जोगाऔं, जनताको विश्वास फर्काऔं।
दलहरूलाई पनि बचाऔं, लोकतन्त्रलाई पनि बचाऔं —
तर राष्ट्रभन्दा माथि कसैलाई राख्ने गल्ती दोहोर्याऔं न।

आऊ, फेरि एक पटक देशका लागि एक होऔं।
राजनीति होइन, राष्ट्रनीति अपनाऔं।
देश, दल र प्रजातन्त्र — सबैको जय होस्।

 

धेरै पढिएको

सम्बन्धित समाचार