विशेष अधिवेशनमार्फत काँग्रेसलाई नयाँ दिशातर्फ लैजानुपर्छ: निमा ग्याल्जेन शेर्पा, महासमिति सदस्य
Advertisement 1

काठमाडौं: नेपाली कांग्रेसमा विशेष अधिवेशनको माग तीव्र बनेको छ। पार्टीभित्र मात्र नभई कांग्रेसप्रति व्यापक जनअपेक्षा र असन्तोष बढिरहेको सन्दर्भमा अहिले विशेष अधिवेशनमार्फत पार्टीलाई नयाँ जीवन दिने आवाज सशक्त रूपमा उठिरहेको छ।
Advertisement 2
महासमिति सदस्य तथा हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पा (ह्योल्मो) ले यसलाई केवल व्यक्तिपरिवर्तनको मेलामात्र होइन, पार्टीलाई नयाँ दिशातर्फ लैजाने ऐतिहासिक अवसरको रूपमा लिनुपर्ने बताएका छन्।
केवल सभापति परिवर्तनले समाधान हुँदैन
Advertisement 3
शेर्पाका अनुसार कांग्रेसलाई वर्तमान अवस्थामा ल्याउन शीर्ष नेतादेखि भातृ संगठनसम्म सबै तह जिम्मेवार छन्। उनले भने, “केवल सभापति फेरेर पार्टीमा गहिरो परिवर्तन सम्भव हुँदैन। यदि कांग्रेस जनतामाझ असफल भएको हो भने त्यसको जिम्मेवारी शीर्ष नेता, महामन्त्रीदेखि लिएर सबै पदाधिकारीहरूले लिनुपर्छ। सामूहिक आत्ममूल्यांकन गरेर मात्र पार्टीलाई नयाँ जीवन दिन सकिन्छ।”
उनले थपे, “अब केवल अनुहार बदल्ने अभ्यासले कांग्रेसलाई बचाउने छैन। विशेष अधिवेशनमार्फत केन्द्रीय सदस्यदेखि पदाधिकारी हुँदै सबै तहको नेतृत्वले सामूहिक राजीनामा दिनुपर्छ। त्यसपछि मात्र नयाँ महाधिवेशन कमिटी गठन गरेर कांग्रेसलाई संस्थागत रूपमा बलियो बनाउन सकिन्छ।”
शिक्षा–स्वास्थ्य निःशुल्क: जनमुखी एजेन्डा
शेर्पाले वर्तमान अवस्थामा जनताले केवल भाषण होइन, प्रत्यक्ष परिणाम खोजेको औंल्याए। उनका अनुसार, शिक्षा र स्वास्थ्य पूर्ण निःशुल्क बनाउनु आजको प्रमुख एजेन्डा हुनुपर्छ।
उनले स्पष्ट भने, “अब नेपालमा शिक्षा र स्वास्थ्य पूर्ण निःशुल्क भए अहिलेको समस्या ५० प्रतिशत समाधान हुन्छ। यो मात्र होइन, यसले जनतामाझ पार्टीप्रति विश्वास पुनःस्थापित गर्न पनि मद्दत गर्छ।”
उनले थपे, “जनताले अब केवल अनुहार परिवर्तनको अपेक्षा गरेका छैनन्। उनीहरूले जीवनस्तरमा प्रत्यक्ष सुधार ल्याउने एजेन्डा खोजेका छन्। शिक्षा र स्वास्थ्य निःशुल्क बनाउने कार्ययोजना कांग्रेसले ल्याउन सकेमा यसले नयाँ पुस्तालाई आकर्षित गर्छ र व्यापक जनसमर्थन जुटाउन सक्छ।”
गुटगत राजनीतिभन्दा एजेन्डा–आधारित नेतृत्व
शेर्पाले भविष्यमा नेतृत्व चयनको आधार अनुहार, गुटगत समीकरण वा परम्परागत भागबण्डा नभई पार्टीको एजेन्डा, दृष्टि र कार्यक्षमता हुनुपर्नेमा जोड दिए।
उनका अनुसार, “जनतामाझ जसको एजेन्डा विश्वास जित्छ, उसैले पार्टीको नेतृत्व गर्ने प्रणाली अब स्थापित गर्नुपर्छ। यही बाटोले मात्र कांग्रेसलाई परिणाममुखी र भविष्यमुखी बनाउन सक्छ।”
सर्वसमावेशी नेतृत्व र पुस्तान्तरण
शेर्पाले नयाँ पुस्ता, अनुभवसहितका वरिष्ठ नेता, विद्यार्थी, बुद्धिजीवी, तथा नेपालका सबै धर्म–समुदायका प्रतिनिधित्वलाई नेतृत्वमा समावेश नगरी पार्टीमा वास्तविक सुधार सम्भव नभएको बताए।
उनले भने, “अबको कांग्रेस युवा नेतृत्व, ९० वर्षदेखि राजनीतिमा अनुभव भएकाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दृष्टिकोण राख्ने विद्यार्थी र बुद्धिजीवी, सबै धर्म र समुदायको सहभागितामार्फत मात्रै बलियो र समावेशी बन्न सक्छ। यसरी मात्र कांग्रेसलाई दीर्घकालीन रूपमा परिणाममुखी बनाउन सकिन्छ।”
कांग्रेस बिग्रनुमा सामूहिक जिम्मेवारी
शेर्पाले कांग्रेसलाई आजको अवस्थामा ल्याउन केवल सभापतिमात्र होइन, शीर्ष नेतादेखि भातृ संगठनसम्म सबै तह जिम्मेवार रहेको धारणा राखे। उनले भने, “गगन थापा, शेखर कोइराला लगायत नेताहरूको जिम्मेवारी बराबरी छ। नेविसंघ, तरुण दल जस्ता भातृ संगठनहरू आ–आफ्नो गुटगत स्वार्थमा अल्झिँदा कांग्रेस कमजोर भयो। नेविसंघको जिल्ला सभापतिले एउटा विद्यालयसम्म व्यवस्थापन गर्न नसक्ने अवस्था पार्टीलाई कहाँ पुर्याएको छ भन्ने स्पष्ट देखिन्छ।”
तर उनले अन्ततः पार्टी सभापति शेरबहादुर देउवालाई मुख्य जिम्मेवार ठहर गरे। उनका शब्दमा, “तर कांग्रेस बिगारेको मुख्य जिम्मेवारी भने शेरबहादुर देउवालाई जान्छ। नेतृत्वमा रहँदा उहाँले पार्टीलाई शुद्ध, chokho बनाउनुपर्ने हो। तर उल्टै गुटगत भागबण्डा र भागबण्डामै सीमित हुँदा संगठन कमजोर भयो। महामन्त्रीदेखि केन्द्रीय समिति र पदाधिकारीहरूलाई दोष छ तर निर्णायक जिम्मेवारी भने सभापतिलाई जान्छ।”
विशेष अधिवेशन: नयाँ जीवन दिने अवसर
शेर्पाले विशेष अधिवेशनलाई कांग्रेसलाई नयाँ जीवन दिने ऐतिहासिक अवसरको रूपमा चित्रित गरे। उनले निष्कर्षमा भने, “विशेष अधिवेशन केवल पदाधिकारी बदल्ने मेलामात्र होइन। यसले कांग्रेसलाई आत्ममूल्यांकन गर्ने, सामूहिक जिम्मेवारी लिन सिकाउने र नयाँ दिशातर्फ लैजाने अवसर दिन्छ। शिक्षा–स्वास्थ्य निःशुल्क बनाउने, रोजगारी सिर्जना गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने र संस्थागत सुधार गर्ने ठोस एजेन्डासहित नयाँ नेतृत्व प्रणाली विकास गर्न सकियो भने कांग्रेस फेरि जनताको मन जित्न सक्छ।”


प्रतिक्रिया दिनुहोस्