२०८२ कार्तिक ११ मंगलवार
नेपाली समय

बाह्रबिसेको सपना साकार : मध्य भोटेकोसीले ल्यायो उज्यालो र आशा

१ महिना अगाडि

मध्य भोटेकोसी जलविद्युत आयोजना : संघर्ष, उपलब्धि र स्थानीयको जीत

Advertisement 1

सिन्धुपाल्चोक, बाह्रबिसे —
नेपालको जलविद्युत इतिहासमा अर्को ऐतिहासिक पृष्ठ थपिएको छ। भोटेकोसी नदीको शक्तिलाई सदुपयोग गर्दै १०२ मेगावाट क्षमताको मध्य भोटेकोसी जलविद्युत आयोजना २०६५ सालमा प्रारम्भ भएर करिब दुई दशक लामो उतार–चढावपछि २०८२ सालमा सम्पन्न भएको हो। करिब १४ अर्ब रुपैयाँ लागतमा बनेको यस आयोजना केवल बिजुली उत्पादनको साधन मात्र नभई बाह्रबिसे र भोटेकोसी गाउँको सामाजिक–आर्थिक रूपान्तरणको आधारस्तम्भ बनेको छ।

आयोजनाले विद्युत् उत्पादनसँगै शिक्षा, स्वास्थ्य, सडक, खानेपानी लगायतका क्षेत्रमा गरेको लगानीले यहाँका बासिन्दाको जीवनस्तरमा गुणात्मक सुधार ल्याएको छ। विद्यालयमा पठनपाठन सहज बनेको छ, स्वास्थ्य सेवाको पहुँच विस्तार भएको छ, पहिल्यै कठिनाइपूर्ण सडक सञ्जाल व्यवस्थित भएको छ, र खानेपानीमा गरिएको सहयोगले गाउँ–गाउँमा राहत पुर्‍याएको छ। यसका अतिरिक्त, स्थानीयलाई रोजगारी प्रदान गर्नु र १० प्रतिशत सेयर उपलब्ध गराउनु सुरुदेखिकै महत्वपूर्ण प्रतिवद्धता थियो, जसको प्रत्यक्ष फल अहिले गाउँघरका परिवारहरूले अनुभव गर्न थालेका छन्।

Advertisement 3

यद्यपि यो उपलब्धिसम्म पुग्ने यात्रा सहज थिएन। आयोजना प्रारम्भ गर्दा जग्गा व्यवस्थापनदेखि वातावरणीय प्रभाव मूल्याङ्कन प्रक्रिया, स्थानीयलाई सम्झाउने कठिनाइदेखि राजनीतिक अवरोधसम्म असंख्य चुनौतीहरू देखापरे। सुरुवाती चरणमा धेरैले यसलाई असम्भव ठानेका थिए। तर बाह्रबिसेका सचेत स्थानीय, बुद्धिजीवीहरू, र केही राजनीतिक दलका नेताहरूले देखाएको सूझबूझ, धैर्य र दृढ संकल्पकै कारण आयोजना अघि बढ्न सम्भव भयो। उनीहरूले समुदायलाई लामो दृष्टिकोणबाट बुझाउँदै भने—‘यो आयोजना केवल बिजुलीका लागि होइन, भविष्यको लागि हो।’ त्यही बुझाइले गर्दा स्थानीयहरूले धैर्य गरे, त्याग गरे, र आज त्यसको फल पाएका छन्।

पूर्व नगरप्रमुख निमफुन्जो शेर्पाले यसै कुरा जोड्दै भने, “मध्य भोटेकोसी आयोजनाले बाह्रबिसेको नाम मात्र उजागर गरेको छैन, यसले हाम्रो पुस्ताको सपना पूरा गरेको छ। सुरुवाती चरणमा राजनीतिक अवरोध, स्थानीय असन्तुष्टि, प्राकृतिक विपद्—सबैसँग लड्दै अघि बढ्न हामीले ठूलो संघर्ष गर्‍यौं। तर स्थानीयको एकता, बुद्धिजीवीहरूको सूझबूझ र केही नेताहरूको सकारात्मक भूमिकाले आज हामी यो चरणमा आइपुगेका छौं। यस आयोजनाले बाह्रबिसेलाई मात्र होइन, समग्र सिन्धुपाल्चोकलाई समृद्धिको बाटोमा डो¥याएको छ।”

आयोजनाका प्रमुख कार्यकारी अधिकृत रामगोपाल सिवाकोटीले यसलाई नेपालको ऊर्जा क्षेत्रमा ऐतिहासिक उपलब्धि भन्दै भने, “जलविद्युत नै नेपालको अर्थतन्त्रको मेरुदण्ड हो। मध्य भोटेकोसीले बिजुली उत्पादनमार्फत देशलाई ऊर्जा आत्मनिर्भर बनाउन मात्रै होइन, निर्यातमार्फत विदेशी मुद्रा आर्जन गर्ने बाटो पनि खोलिदिएको छ। यस आयोजनाले स्थानीयलाई रोजगारी दिएको छ, सेयरमार्फत प्रत्यक्ष लाभ दिलाएको छ, र शिक्षा, स्वास्थ्य, सडक, खानेपानीमा गरेको लगानीले समुदायलाई स्थायी आधार दिएको छ। अब हाम्रो प्राथमिकता भनेको बाँध र सुरुङलाई अझ मजबुत बनाउँदै, वातावरणीय सन्तुलन कायम राख्दै उत्पादनलाई दीर्घकालीन रूपमा निरन्तरता दिनु हो।” उनले आयोजनाको सफलतामा स्थानीय समुदायको धैर्य र सहयोगलाई सबैभन्दा ठूलो मेरुदण्ड ठहर गर्दै भविष्यमा अझ आधुनिक प्रविधि र सुरक्षित संरचना अपनाउँदै नेपाललाई ऊर्जा निर्यातकर्ताको रूपमा स्थापित गर्ने लक्ष्य राखेको उल्लेख गरे।

त्यस्तै, बाह्रबिसे नगरपालिकाका पूर्व वडाध्यक्ष मोहोन लाल श्रेष्ठले आयोजनाले गाउँमा ल्याएको प्रत्यक्ष परिवर्तनबारे आफ्ना अनुभव बाँडे। उनका अनुसार, “मध्य भोटेकोसीले हाम्रो बाह्रबिसे मात्र होइन, सम्पूर्ण भोटेकोसीलाई फरक पारेको छ। सडक सहज भएका छन्, खानेपानी उपलब्ध भएको छ, विद्यालय र स्वास्थ्यमा गुणात्मक सुधार आएको छ। युवाहरूले रोजगारी पाएका छन्, हामीजस्ता सामान्य परिवारले सेयरबाट प्रत्यक्ष लाभ पाएका छौं।

सुरुमा धेरै शंका थियो, तर आज यसले हामीलाई आत्मनिर्भर बनाएको छ। अब हाम्रो चाहना भनेको आयोजना सुरक्षित रहोस्, पारदर्शिता कायम रहोस्, र यसले आउने पुस्तालाई अझै ठूलो लाभ पुर्‍याओस् भन्ने हो।” श्रेष्ठले थपे, “स्थानीय, कम्पनी र सरकारले निरन्तर सहकार्य गरे मध्य भोटेकोसीले बाह्रबिसे मात्र होइन, सम्पूर्ण नेपाललाई उज्यालो र समृद्धिको बाटोमा पुर्‍याउनेछ।”

धेरै पढिएको

सम्बन्धित समाचार