२०८२ फाल्गुन २७ बुधबार
नेपाली समय

ओली–सी भेटवार्ता : भारत–चीन सम्झौता नेपाललाई स्वीकार्य नहुने स्पष्टिकरण

६ महिना अगाडि

प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सीसँग लिपुलेक सम्झौताप्रति आपत्ति जनाए

Advertisement 1

थियानजिन (चीन), भदौ १४ – प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँगको भेटवार्तामा भारत–चीनबीच लिपुलेकलाई व्यापारिक मार्ग बनाउने सहमति नेपाललाई स्वीकार्य नहुने स्पष्ट अडान प्रस्तुत गरेका छन्।

साङ्घाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा सहभागी हुन थियानजिन पुगेका ओलीले थियानमिन स्टेट गेष्ट हाउसमा भएको द्विपक्षीय भेटमा सार्वभौम नेपालको अभिन्न भूभाग लिपुलेकबारे नेपालले प्रस्ट आपत्ति जनाएको परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले जानकारी दिए।

ओलीले भने, “सुगौली सन्धिअनुसार महाकालीपूर्वका भूभाग नेपालको हो भन्ने तथ्य अस्वीकृत गर्न सकिँदैन। नेपालले आफ्नो भूमि कुनै मुलुकविरुद्ध प्रयोग हुन नदिने अडान लिएको छ, त्यसैले अरू मुलुकले गर्ने सहमतिमा पनि स्पष्ट असहमति जनाउँछ।”

Advertisement 3

राष्ट्रपति सीले नेपालको दाबीप्रति फरक मत नरहेको जनाउँदै यस विषयमा नेपाल–भारतबीचको छलफलमार्फत निष्कर्ष निस्कनुपर्ने चाहना राखेको परराष्ट्र सचिव राईले बताए।

भेटवार्तामा दुवै मुलुकबीचको मित्रवत् सम्बन्ध, सहकार्य विस्तार तथा ‘बेल्ट एन्ड रोड इनिसियटिभ’ (बीआरआई) अन्तर्गतका परियोजनामा गति दिनेबारे छलफल भएको प्रधानमन्त्री ओलीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडाले जानकारी दिए। उनका अनुसार चीनले नेपाललाई निर्यात प्रवर्द्धन, गुणस्तरीय कृषि उत्पादनमा सहयोग र भू–परिवेष्टित अवस्थाबाट भू–जडित बनाउने संकल्पमा समर्थन गर्ने स्पष्ट गरेको छ।

भेटमा पूर्वउपप्रधानमन्त्री पूर्णबहादुर खड्का, मन्त्रीहरू रघुजी पन्त र बद्रीप्रसाद पाण्डे, पूर्वमन्त्री छविलाल विश्वकर्मा, सचिव अमृत राई, चीनका लागि नेपाली राजदूत डा. कृष्णप्रसाद ओलीलगायत उपस्थित थिए।

प्रधानमन्त्री ओलीको यस वर्षकै दोस्रो र पदासीन प्रधानमन्त्रीको चौथो चीन भ्रमण हो। भ्रमणका क्रममा उनले चीनका उपराष्ट्रपति हान चङ्गसँग पनि भेट्नेछन् भने शिखर सम्मेलनमा सहभागी अन्य राष्ट्र प्रमुखहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ।

धेरै पढिएको

सम्बन्धित समाचार